‘नेपाल कम्युनिस्ट पार्टी’ नामबारे मुद्दाको फैसला आज


काठमाडौँ – ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको विवादबारे सर्वोच्च अदालतले आज (आइतबार) फैसला सुनाउने भएको छ।

२०६९ सालमा ऋषिराम कट्टेलको नाममा ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी एकता गरी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नाम राखेर पार्टी दर्ता गराएका हुन्।

त्यही बेला पनि यसबारे विवाद भएको थियो। किनकि एउटै नामको दुइटा दल दर्ता गर्न नपाइने प्रावधान छ। तर माओवादी केन्द्र र एमाले मिलेर बनेको पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा्) अर्थात् कोष्ठमा समेत राखेर फरक पारी दर्ता गरिएको हो। तर नाम एउटै भयो भनेर कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। त्यसैको फैसला आज हुने भएको हो।

गत बिहीबार नै फैसला गर्ने भनिए पनि पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले शोकमा सर्वोच्चसहित सबै अदालत बन्द गरिएपछि फैसलाको मिति आजका लागि सारिएको हो।

नेकपा नामविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएका रिटको सुनुवाइ यही फागुन ६ गते सकिएको हो। यसमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने तयारी छ।

प्रतिक्रिया