सरकारी निकाय नै सर्वोच्चको फैसलाविरुद्ध, चौंरीदेउरालीले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा


काभ्रे — सरकारी निकायले नै सर्वोच्च अदालतको फैसला उल्लंघन गरेको पाइएको छ । काभ्रेको चौँरीदेउराली गाउँपालिका सर्वोच्चको फैसलाविरुद्ध जनयुद्ध दिवस भन्दै फागुन १ मा सार्वजनिक बिदा दिने निर्ण गरेपछि सर्वोच्चको फैसला उल्लंघन गरेको पाइएको हो ।

माघ २५ गते चौँरीदेउराली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु चौलागाईंद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा बिदा दिने उल्लेख छ।

उक्त सूचना अनुसार माघ २२ गतेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा यस गाउँपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्थालगातयका सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संघसंस्थाहरूमा मिति २०८० फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिएको छ।

चौरी देउरालीकी अध्यक्ष रेणुका चौलागाईं माओवादी केन्दबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी जनप्रतिनिधि हुन् ।

जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार जनयुद्ध दिवसमा बिदा दिने सरकारी निर्णय बदर गरेका थिए।

प्रतिक्रिया