


अरुण चौधरीसहित तीन जना रिहा

काठमाडाैं- बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन् ।
सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हिरासतमुक्त भएका हुन् ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेकाे लागेको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

