नेवानिले दुईवटा जहाज भाडामा लिने, खोल्यो टेन्डर


काठमाडौं- नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने भएको छ ।  वेट लिजमा लिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको सहमति लिई अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको छ ।

जहाज, चालकदल, जहाज मर्मत खर्च र इन्स्योरेन्स जहाज उपलब्ध गराउने कम्पनीले बेहोर्ने गरी भाडामा लिनुलाई वेट लिज भनिन्छ ।

‘नेपाल वायुसेवा निगमले देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिति देखाइ विदेशी पर्यटकहरूलाई सेवा दिने उद्देश्यले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने प्रक्रिया पारदर्शी ढंगले गर्नका लागि तालुक मन्त्रालयको समेत सहमति लिई सार्वजनिक खरिद ऐन नियम बमोजिम आज मिति २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ’ निगमका प्रवक्ता रमेश पौडेलले जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमले अहिले आफूसँग भएको दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग भइरहेको र अन्य ठाउँमा दुई वटा न्यारोबडी जहाजले माग धान्न नसक्ने भएकोले जहाज थप गर्न लागिएको जनाइएको छ ।

थप भएका जहाजले मागको चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसियालगायत क्षेत्रमा उडान गरी आय बढाउने र भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान गर्ने योजना रहेको निगमले बताएको छ ।

वेट लिजमा लिने जहाजमा न्युनतम १५० सिट हुनुपर्नेछ । त्यस्तै इन्टरनेट सुविधा भए वाञ्छनिय हुने भनिएको छ । वेट लिजमा लिने जहाजलाई महिनामा कम्तिमा ३१० घण्टा उडानको ग्यारेन्टी दिनुपर्नेछ । यदि महिनामा ३१० घण्टाको उडान दिन नसके कम्तिमा ३१० घण्टा उडान गर्दाको भाडा निगम दिनुपर्ने हुन्छ । त्यस्तै लिज अवधिभर जहाजलाई चाहिने आवश्यक पाटपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राख्नुपर्नेछ । लिजको जहाजमा अनिवार्य रुपमा नेपाल एयरलाइन्सको नाम र लोगो हुनुपर्नेछ ।

प्रतिक्रिया