

२३ पदका लागि उपनिर्वाचन हुँदै, कहाँ कति ?

काठमाडौं: निर्वाचन आयोगले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकामा २३ पद रिक्त रहेको जनाएको छ । २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् विभन्न कारणले ती पद रिक्त रहेको आयोगले जनाएको हो ।
ती स्थानमा उपनिर्वाचनका गर्नुपर्ने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको जानकारी दिनुहुँदै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको बताए ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

