

बाँसबारी जग्गा प्रकरण : थप एक जना पक्राउ

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।
बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा घोटालामा संलग्न भएकाे पाइएपछि उनलाई पक्राउ गरिएको हो । ठाकुर बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष भएको बताइएको छ ।
सोही प्रकरणमा प्रहरीले चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ ।
याे प्रकरणमा नेपाल प्रहरीको सीआईबीले तीन महिनादेखि अनुसन्धान गरिरहेको पाइएको छ ।
१० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीकी निर्देशक किरण बज्राचार्यले जानकारी दिइन् ।

