पोखरामा ‘मेरो रुख म काट्छु’ अभियान चलाउनुअघि नै भटाभट रुख काटिएको खुलासा


पोखरा– सोमबार पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना जारी गरेका थिए ।

“‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,” पाण्डेले भनेका थिए ।

उक्त सूचनाको चौतर्फी विरोध भएपछि मंगलबार महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको थियो । मेयर धनराज आचार्यले आपत्ति जनाएपछि उक्त अभियान रद्द भएको थियो ।

तर, विज्ञप्तिमार्फत आव्हान गरेका वडाध्यक्ष पाण्डेले गाउँलेलाई सूचना पहिले नै रुख काट्न लगाएको खुलासा भएको छ । वडाध्यक्ष पाण्डेले गाउँलेलाई ‘तपाईँहरू घर वरपरका रुख काटनुस, परेको म व्यहोर्छु’ भनेपछि विज्ञप्ति जारी गरेको मिति भन्दा एक सता अघिनै त्यहाँका रुखहरू काटिएको पाइएको हो ।

स्थानीयका अनुसार वडाले सूचना निकाल्नु एक हप्ताअघि स्थानीय स्तरमा गठन भएको बाँदर नियन्त्रण कार्यक्रमको पहलमा छलफल भएको थियो । सो छलफलमा वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाउने बताएका थिए। त्यसकै भोलिपल्टदेखि स्थानीयले रुख काट्न सुरु गरेका थिए ।

एक स्थानीयका अनुसार अहिले पोखरा–१९ घार्मी साइडका अधिकांशले रुख काटिसकेका छन्। ‘वडाध्यक्षले नै जिम्मा लिन्छु भनेपछि हामीले भटाभट रुख काट्यौँ’ उनले भने ।

बाँदर नियन्त्रण कार्यक्रमकी संयोजक लीला पौडेलले पनि रुख काट्ने सहमति भएपछि घर वरपरका रुख काटेको स्विकारेकी छिन् । ‘रुख काटेको भनेर वन नै मासेका त होइनौँ । बाँदर नियन्त्रणका लागि रुख काटेका हौँ’ उनले भनिन् ।

 

प्रतिक्रिया