

इमरान खानलाई थप १४ वर्षको जेल सजाय, के थियो मुद्दा ?

इस्लामावाद- पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनको ८ दिनअघि पूर्व प्रधानमन्त्री इमरान खानलाई दोस्रो पटक सजाय सुनाइएको छ । खान र उनकी पत्नी बुशरा बीबीलाई तोशखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको हाे ।
यसपछि खानले १० वर्षसम्म कुनै पनि सरकारी पदमा बस्न पाउँदैनन् । निर्णय अनुसार दुवैलाई करिब २३ करोड ३७ लाखको जरिवाना समेत लगाइएको छ । यसअघि हिजो अर्थात मंगलबार रावलपिण्डीको विशेष अदालतले गोप्य चिठी चोरीको मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।
उनीसँगै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि सजाय सुनाइएको छ । खानलाई २ दिनमा २४ वर्षको जेल सजाय सुनाइएको छ ।
गत महिना मात्रै पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले इमरान खान र बुशरा बीबीविरुद्ध तोशाखानासँग सम्बन्धित मुद्दा दर्ता गरेको थियो । जसमा उनीहरु दुबैले साउदी युवराजबाट उपहार स्वरुप पाएको हार बेचेको आरोप लगाइएको थियो । यो सुनुवाई गर्दै उत्तरदायित्व अदालतले बुधबार सजाय सुनाएको हो ।
प्रधानमन्त्री हुँदा खानले साउदी युवराजबाट हिराको हार उपहार स्वरुप पाएका थिए । यसको मूल्य १८ करोड पाकिस्तानी रुपैयाँ थियो, यो लाहोरका एक प्रसिद्ध जौहरीलाई बेचेका थिए । इमरानकी श्रीमती बुशरा बीबीले यो हार एक मन्त्री जुल्फी बुखारीमार्फत बेचेकी थिइन् ।
तोशाखाना (कोषागार) को नियम अनुसार इमरानले यो हार जम्मा गर्नुपर्थ्यो । तर बुशराले त्यसो गर्न अस्वीकार गरिन् । यस केसको अनुसन्धान सन् २०२२ मा सुरु भएको थियो ।

