

एनआरएनएको निर्वाचनविरुद्ध परेको निवेदन खारेज

काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनविरुद्ध परेको निवेदन उच्च अदालत, पाटनले खारेज गरिदिएको छ ।
गत असोज २५ गते जर्मनीको ह्याम्बर्ग बस्ने दीपेश खत्रीले दायर गरेको निषेधाज्ञाको निवेदन उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र कृष्णराम कोइरालाको इजलासले खारेज गरिदिएको हो ।
न्यायाधीशद्वयको इजलासले विधिसम्मत तरिकाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा निवेदकको मागदाबी नपुग्ने ठहर गरेको हो।
गत असोज–कात्तिकमा काठमाडौँमा सम्पन्न महाधिवेशनले संघमा डा. बद्री केसीको नेतृत्वमा कार्यसमिति चयन गरेको छ भने अर्का प्रतिस्पर्धी आरके शर्माको समूहले पनि समानान्तर समिति घोषणा गरेको छ ।
शर्मा समूहले निर्वाचनको निष्पक्षमा प्रश्न उठाएपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

