

कार्यसम्पादनमा देशभरमै उत्कृष्ट बन्यो महोत्तरी गाउँपालिका, कुन प्रदेशमा को अगाडि ?

काठमाडौं– स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)मा महोत्तरीको महोत्तरी गाउँपालिका देशभरमै उत्कृष्ट बनेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये मधेश प्रदेशको महोत्तरीले हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कूल १०० अंक ल्याएको हो ।
उसले शासकीय प्रवन्धमा ९ मध्ये ९ हासिल गरेको छ भने संगठन तथा प्रशासनमा ८ मा ८ नै ल्याएको छ । यस्तै वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ मा ११, वित्तिय एवम् आर्थिक व्यवस्थापनमा ११ मध्ये ११, सेवा प्रवाहमा १६ मध्ये १६, न्यायिक कार्यसम्पादनको ७, भौतिक पूर्वाधारको १३, समाजिक समावेशीकरणको १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनको ९ र सहकार्य तथा समन्व्यको पूर्ण ६ अंक प्राप्त गरेको छ ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा देशभरमै बागमती प्रदेशको धादिङस्थित बेनीघाट रोराङ्ग गाउँपालिकाले ९९.७५ अंक ल्याएर दोस्रो स्थान हासिल गरेको छ । वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ मा १०.७५ अंक ल्याएको बेनीघाट रोराङ्गले अन्य सबै स्वमुल्याङ्कन विषय क्षेत्रमा पूर्ण अंक ल्याएको छ ।
यसैगरी तेस्रो बन्नेमा बागमतीकै चितवनको खैरहनी नगरपालिका रहेको छ । उसले ९८.५ अंक ल्याएर देशभरमै उत्कृष्ट बन्ने तालिकामा तेस्रो स्थान हासिल गरेको हो । भौतिक पूर्वाधारको १३ अंकमध्ये ११.५ हासिल गरेको खैरहनीले अन्य विषय क्षेत्रमा पूर्ण अंक ल्याएको छ ।
कुन प्रदेशमा को अगाडि ?
कोशी प्रदेशमा इलामको इलाम नगरपालिका र सुर्योदय नगरपालिका ९६ अंक हासिल गर्दै प्रदेशमै उत्कृष्ट बनेका छन् । यस्तै दोस्रोमा ९३.२५ अंक ल्याएर उदयपुरको कटारी नगरपालिका रहेको छ । त्यस्तै पाँचथरको फिदिम नगरपालिका ९२ अंक ल्याएर तेस्रो बनेको छ ।
देशभरै उत्कृष्ट बनेको मधेश प्रदेशको महोत्तरी प्रथम हुँदा दोस्रोमा धनुषाको औरही गाउँपालिका रहेको छ । यसले कूल ९६.७५ अंक ल्याएको छ । यस्तै ९५.५ अंक ल्याएर सिरहाको अर्नमा गाउँपालिका प्रदेशमा तेस्रो बनेको छ ।
बागमती प्रदेशमा भने धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाले ९९.७५ अंक पहिलो बनेको छ । यस्तै ९८.५ अंक ल्याएर चितवनको खैरहरी नगरपालिका दोस्रो बन्दा ९८ अंक ल्याएर चितवनकै रत्ननगर नगरपालिका तेस्रो बनेको छ ।
गण्डकीमा स्याङजाको अर्जुनचौपारी ९४ अंक ल्याएर कार्यसम्पादनमा पहिलो भएको छ । यस्तै म्याग्दीको बेनी नगरपालिका ९१.५ अंक ल्याएर दोस्रो बन्दा ९१.२५ अंक ल्याएर नवलपरासीको कावासोती नगरपालिका तेस्रो बनेको छ ।
लुम्बिनी प्रदेशमा भने रुपन्देहीको तिलोत्तमा ९७ अंक ल्याएर प्रथम भएको छ । यस्तै रुपन्देही कै बुटवल उपमहानगरपालिका ९४.२५ अंक ल्याएर दोस्रो बन्दा गुल्मीको धुर्कोट गाउँपालिकाले ९३.७५ अंक ल्याएर तेस्रो बनेको छ ।
उता कर्णालीमा जुम्लाको पातारासी गाउँपालिका ९६ अंक ल्याएर प्रदेशकै उत्कृष्ट बनेको छ । यसैगरी जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ९५.५ अंक ल्याएर दोस्रो बनेको छ । यस्तै पश्चिम रुकुमको चौरजहारी नगरपालिका ९३.२५ अंक ल्याएर तेस्रो स्थानमा अटाएको छ ।
अन्तिममा सुदूरपश्चिम प्रदेशको डोटीस्थित आदर्श गाउँपालिका ९५.५ अंक ल्याएर उत्कृष्ट बनेको छ । यस्तै डडेल्धुराको भागेश्वर गाउँपालिका ९१ अंक ल्याएर दोस्रो बन्दा बाजुराको जगन्नाथ गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिका ८९.७५ अंक ल्याएर तेस्रो स्थानमा अटाएका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा) मा देशभरका कतिपय स्थानीय तहले विवरण नदिएका कारण उनीहरुको विवरण प्रविष्ट गरिएको छैन ।

