दलित युवकसँग प्रेम गरेको भन्दै बुवाले गरे छोरीको हत्या


बारा- दलित युवासँग प्रेममा रहेको भन्दै छोरीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिका–१ का हरिन्द्र महतोलाई १५ वर्षीया छोरी कोशिला कुमारीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मामाघर बस्दै आएकी छोरीलाई महतोले गत साउन ११ मा पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ । कोशिलाको शव शरीर र टाउँको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो ।

करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जाँदा महतोले छोरीको हत्या गरेको स्वीकार गरेका शाहले बताए ।

मृतक बालिका स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेका कारणले उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बैठा दलित समुदायको युवकसँग कुनै सम्बन्ध नराख्न परिवारले पटकपटक कौशिलालाई दबाब दिँदै आएको तर छोरीले बैठासँगको सम्बन्ध कायम राखेकोबारे गाउँमा हल्ला चलेपछि बाध्य भएर छोरीको हत्या गर्नुपरेको हरिन्द्रले स्विकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया