

कर्मचारी आन्दाेलित भएपछि विद्यालयमा तालाबन्दी

अछाम- विद्यामन्दिर नमुना मावि विनायकमा तालाबन्दी भएको छ । जिल्लामा नमुना विद्यालयका रूपमा रहेको मावि अन्तर्गत कृषि सङ्काय तर्फका शिक्षक तथा कर्मचारीलाई विद्यालय व्यवस्थापन समितिले हटाउने निर्णय गरे सँगै कर्मचारीहरू आन्दोलित भएर तालाबन्दी गरेको प्रधानाध्यापक पहल सिंह नेपालीले जानकारी दिए ।
बुधवार बिहानै अतिरिक्त कक्षा अध्ययन गर्न गएका विद्यार्थीहरू तालाबन्दी भएपछि गेटबाटै घर फर्किएका छन्। ।
तालाबन्दीका कारण विद्यार्थीहरुकाे पठनपाठन प्रभावित भएको छ ।
प्राविधिक सङ्कायतर्फ कृषि जेटिए र आइएसीएजी तर्फका कक्षाहरूमा विद्यार्थी भर्ना दर न्यून रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षक तथा कर्मचारी हटाउने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले विद्यालयको गेटमा तालाबन्दी गरेका छन् ।

