

माघ ७ गते पूर्वराजा ज्ञानेन्द्र हेटौँडा जाने

काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा जाने भएका छन् । पूर्वराजा शाहको हेटौँडा भ्रमणबारे बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले पूर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पूजाआजा गर्नुका साथै शुभेच्छुक र समर्थकहरूसँग भेट गर्ने जानकारी दिए । नेता सिंहका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा– १० मा रहेको भुटनदेवी मन्दिर र हेटौँडा– १३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोतला गुम्बाको अवलोकनसहित पूजाआज गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, पूर्वराजा शाहले पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण गर्ने र हेटौँडा– ५ मा रहेको हेटौँडा रिसोर्टमा मकवानपुरका उद्योगी, व्यवसायी, शुभेच्छुक तथा पत्रकारहरूसँग समेत भेटघाट गर्ने जानकारी दिए ।

