मृत श्रीमान्‌सँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु, ३ जना पक्राउ


जनकपुरधाम – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडक छेउमा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो बिहान २५ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने उनकी पत्नी अन्दाजी २० वर्षीया अस्मिता घाइते अवस्थामा भेटिएकी थिइन् । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत् अस्मिताको गएराति मृत्यु भएको प्रहरीले बताएको छ ।

श्रीमती अस्मिता बोल्न नसक्ने अवस्थामा भएकाले प्रहरीले घटना विवरण सोधपुछ गर्न सकेन । उनको पनि मृत्यु भएकाले अनुसन्धान असहज हुने देखिएको छ ।

घटनास्थलमा मोटरसाइकलका टुक्राहरू भेटिएको थियो । घटनास्थल हेर्दा उनी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । तर, दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटेपछि घटना शंकास्पद मानिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले दुर्घटनामै राधेको मृत्यु भएको र घाइते उनकी श्रीमतीको पनि उपचारको क्रममा मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

उनले भने, ‘घटनास्थलमा मोटरसाइकल फेला नपरेपछि घटना शंकास्पद छ । तर, मोटरसाइकल भेटिसकेको छ । अर्काकै मोटरसाइकल थियो । ती व्यक्तिले मोटरसाइकल लगेका थिए । अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकलका धनीलाई नियन्त्रणमा लिएको डीएसपी अवाले बताए ।

प्रतिक्रिया