नेपाली सीमामा भारतले किन थप्यो १३ हजार एसएसबी?


काठमाडौं– भारतले नेपालसँग सीमा जोडिएका क्षेत्रमा १३ हजार सीमा सुरक्षाकर्मी थपेको छ। त्यसका लागि उसले एक दर्जन सीमा सुरक्षा बल (एसएसबी)का नयाँ बटालियन स्थापना गरेको छ।

हालसम्म ९० हजार जना सीमा सुरक्षाकर्मी परिचालित रहेकोमा अब एक लाख १० हजारको संख्यामा रहने बताइन्छ। यी सीमा सुरक्षाकर्मी भुटानसँग जोडिएका सीमामा पनि खटिनेछन्।

भारतको गृह मन्त्रालयले स्वीकृति दिएका कारण बटालियन स्थापनाको काम सुरु भएको छ। एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले नेपालसँग जोडिएको एक हजार सात सय ५१ किलोमिटर र भुटानसँग जोडिएको ६ सय ९९ किलोमिटर क्षेत्रमा स्वीकृत भएका नयाँ बटालियन स्थापना हुने र एसएसबीका अधिकारी खटिने जानकारी दिए।

भारतले यस अघि नै नेपाल र भुटानको सीमा क्षेत्रमा एसएसवी परिचालन गरेको छ। अहिले परिचालन भएका सुरक्षाकर्मीलाई सीमा सुरक्षामा थप सहयोगका रुपमा व्याख्या गरिएको छ। दुई वर्षअघि बटालियन थपका लागि गृहमन्त्रालयमा पत्राचार भएको चन्द्रले भनेका छन्।

सीमामा रहेका बर्डर आउट पोष्ट घटाउन तथा चोरी पैठारी नियन्त्रणमा सघाउ पुग्ने एसएसबी महानिर्देशक चन्द्रले उल्लेख गरेका छन्। भारतीय अखबार दैनिक जागरणको अनलाइन संस्करणका अनुसार आउने चार वर्षभित्र हरेक वर्ष तीन वटा वटालियन परिचालन गर्ने गरि दरबन्दी थप भएको छ। एउटा बटालियनमा एक हजार बढी सुरक्षाकर्मी तैनाथ हुन्छन्।

गृह मन्त्रालयले एसएसबीका १२ बटालियन बाहेक स्वीकृत गरेको थप ५ सय ४८ नयाँ दरवन्दी नेपाल सीमामा रहेका चार वटा ईण्डिगेटर चेक पोष्टमा खटाइने जनाएको छ। जस मध्ये जोगबनी र रक्सौलमा यसअघि नै खटाएकोलाई दरबन्दी मिलान गरेको जनाएको छ भने दुई चेक पोष्टमा कहाँ खटाउने भन्नेबारे खुलाइएको छैन।

नेपालले पनि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका बेओपीहरुमा धमाधम सुरक्षाकर्मी परिचालन गर्दै आईरहेको भए पनि स्रोत साधन अभावले काम गर्न सकिएको छैन।

यसैबीच, भारतले विवादास्पद सीमा क्षेत्र कालापानी र कुटीमा तैनाथ एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीलाई बुधबार कोरोना विरुद्धको खोप लगाएको छ।

समुद्री सतहबाट १४ हजार फिट माथि रहेको कुटी, ११ हजार फिट माथि रहेको कालापानी, दश हजार फिटमा रहेको गुंजी पुगेर त्यहाँका स्वास्थ्यकर्मीले आइटीबीका दुई सय ५० बढी सुरक्षाकर्मीलाई खोप लगाएका हुन्।

प्रतिक्रिया