


एपीएफ र पुलिस उपाधिका लागी भिड्ने

सुर्खेत- सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको लागी दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आज भएको सेमिफाइनलमा पुलिसले आर्मी र एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि भिड्न पक्का गरेका हुन्। उपाधि दावेदार मानिएको आर्मीलाई पुलिसले ३-० ले हराउँदै उपाधिको नजिक पुगेको हो ।
पहिलो सेट पुलिसले आर्मीलाई २५-२१ मा पराजित गर्दा दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा ४-४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले सहजै आफ्नो पक्षमा पारेको थियो। त्यसपछि निकै दबाबमा रहेको आर्मीलाई २५-१९ मा पाखा लागाउँदै पुलिसले एपीएफ सँगको भेट पक्का गरेको हो।
यस्तै एपिएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ। पहिलो सेटमा एक समय १०-९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन नसक्दा खेल गुमाउनु पर्यो।
यस्तै तेस्रो स्थानको लागी गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ।

