
विपिन जोशीलाई दोस्रो युद्ध विराममा छाड्ने आश्वासन आएको छ : मन्त्री साउद
काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीलाई हमासले दोस्रो युद्ध विराममा छाड्ने बताएका छन् । आज कञ्चनपुरको एक कार्यक्रममा बोल्दै उनले कतारबाट दोस्रो युद्ध विराममा जोशीको रिहाईका लागि ठोस पहल गर्ने आश्वासन प्राप्त भएको बताएका हुन् ।
आफूले दैनिकजसो कतार सरकारमार्फत उनको रिहाइको लागि छलफल गरिरहेको उल्लेख गर्दै उनले सकारात्मक समाचार आउनेमा ढुक्क रहेको बताए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका विपिन जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी ४९ विद्यार्थीसँगै त्यहाँ गएका थिए । तर, गत असोज २० गते(७ अक्टोबर) हमास समूहले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो ।
अपरहण परेको तीन महिना पुगिसक्दा पनि उनको केही खबर आएको छैन । उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद स्वयम् उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । सरकारका तर्फबाट मन्त्री साउदले हरेक कार्यक्रममा बारम्बार विपिनको रिहाईका लागि पहल भइरहेको बताइरहेका छन् ।



कागजपत्र |
