

२ महिनादेखि बिग्रिएका चार्जिङ स्टेसन बनाउन बेवास्ता, समस्यामा सेवाग्राही

चितवन -झन्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन नबन्दा सेवाग्राही समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन झन्डै दुई महिनादेखि मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।
सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा चार्ज गर्ने नोजल फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रिएका छन् । हाल एउटा एसी चार्जरमात्र सञ्चालनमा छ ।
एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको बताए । एसी चार्जरबाट चार्ज गर्दा घण्टौं कुर्नुपर्ने समस्या रहेको उनले जनाए ।
उनले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको बताए । ‘डीसीबाट झन्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो,’ उनले भने, ‘अहिले त दुई(तीन घण्टा कुर्नुपर्छ ।’

