आईपीएल २०२०ः चेन्नइविरुद्ध मुम्बई इन्डियन्सको शानदार जित


युएई – मुम्बई इन्डियन्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नइ सुपर किंग्सविरुद्ध शानदार जित हात पारेको छ । सारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा समेत उक्लिएको हो ।

चेन्नईले दिएको १ सय १५ रनको झिनो लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए ।

खराब ब्याटिङ गरेको चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । साम करणले सम्हालिएर खेल्दै चेन्नईको इनिङ्स उकासेका थिए ।

करण र ताहिरले नवौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । जुन साझेदारी आईपीएल इतिहासमा नवौं विकेटका लागि भएको उच्च हो ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए । कल्टर निलको नाममा १ विकेट रह्यो ।

जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।

चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो ।

प्रतिक्रिया