ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम


टीकापुर- कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ ।

वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिए । “घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन् । उनीहरुसँग बोलिदिने व्यक्ति छैन”, उनी भन्छन्, “सन्तानको समय नपाएका ज्येष्ठ नागरिकलाई हामीले १० दिन भए पनि मनोरञ्जनसहित ज्ञान सिकाउने अवसर जुटाएका छौँ ।”

योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउछन्। “बालबालिका मोबाइल र कापी किताबमा व्यस्त रहन्छन्, युवा अधिकांश विदेश छन्, ज्येष्ठ नागरिकसँग बोल्ने कोही छैन”, आर्य भन्छन्, “ज्येष्ठ नागरिक घरको काम गर्ने तथा घर स्याहार्ने जिम्मेवारीमा छन् । यस्तो बेला उनीहरुलाई मानसिक तनाव हुन थालेको छ ।” योग प्रशिक्षक आर्यले उनीहरुलाई मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने बताए।

वृद्ध सेवा समितिका सचिव लोकराज रेग्मीले ज्येष्ठ नागरिक ज्ञानका भण्डार भए पनि उनीहरुमा भएको सीप र ज्ञानको सदुपयोग हुन नसकेको बताउछन्। “ज्येष्ठ नागरिकबाट सन्तानले धेरै कुरा लिएका हुन्छन् । ज्येष्ठ नागरिकको उमेर ढल्कदै जाँदा बच्चाजस्तै स्याहार सुसार र पालन पोषणमा ध्यान दिनुपर्ने हुन्छ तर सन्तानले त्यसो गर्न सकिरहेका देखिँदैन”, उनी भन्छन्, “सन्तानले आफ्नो भविष्यकै बढी चिन्ता गर्दा उनीहरुले स्याहार नपाएको अवस्था छ ।”

प्रतिक्रिया