

खाद्यमा मरेका च्यांग्राको रेबिज रिपोर्ट नेगेटिभ आयो

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा मरेको २० वटा च्यांग्राको रेबिज रिपोर्ट नेगेटिभ आएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले टेष्ट गर्दा रेबिजको नेगेटिभ रिपोर्ट आएको जानकारी दिइन्।
दशैँ र तिहारमा नबिकेका मध्ये २० वटा च्याङ्ग्रा हिजो मरेका पाइएको थियो । राति कुकुर छिरेर केही च्याङ्ग्रालाई टोकेर बाहिर निस्किएको सिसिटिभी फुटेजमा देखिएको खाद्य कम्पनीको दाबी छ।
यसपछि कुकुरकै टोकाइबाट मरेको हो वा होइन भनी मरेकामध्ये २ वटा च्यांग्राको परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। ‘रेबिज रिपोर्ट भने नेगेटिभ आयो,हुन चाहिँ कुकुरकै टोकाइबाट मरेको हो,कुकुरहरू छिरेको हामीसँग सिसिटिभी फुटेज नै छ,’सूचना अधिकारी सुवेदीले भनिन्। यस विषयमा थप अध्ययन भइरहेको उनको भनाइ छ।
दशैँमा ल्याइएका ५४२ वटामध्ये ४७ वटा च्याङ्ग्रा नबिकेर कम्पनीमै दाना पानी खुवाउँदै पालेर राखिएको थियो। गत वर्ष १६२ च्याङ्ग्रा खरिदरबिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरे पनि अपेक्षाअनुसार बिक्री नहुँदा बाँकी रहेका च्याङ्ग्रा कम्पनीले नै पालिरहेको थियो।

