

शिवशिखर सहकारीका बचतकर्तालाई मागदाबी आवेदन दिन आह्वान

काठमाडाैं- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइनबाट आफ्नो बचत रकम मागदावी गर्न आह्वान गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो ।
बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ ।
मन्त्रालयले गत भद्रौ २५ गते सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम शिवशिखरलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत असारमा भारतबाट पक्राउ गरेर ल्याएको थियो । शिव शिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए। दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको खुलेको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा छन् । सहकारीको काठमाडौं शाखाका सेयर सदस्यको उजुरीका आधारमा शर्मासहित डेढ दर्जन पदाधिकारी र व्यवस्थापन कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।

