ट्रमा सेन्टरमा छैन एमआरआई


काठमाडौं – दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन ।

सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् । त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले एमआरआई मेसिन अनिवार्य भए पनि हालसम्म खरिद गर्न नसकिएको बताए । “निकै महँगो पर्ने भएकाले अस्पतालको स्रोतबाट एमआरआई मेसिन खरिद गर्न सम्भव छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मेसिन अभावले समस्यामा परेकाले तत्काल मेसिन उपलब्ध गराइदिन आग्रह गरेका छौँ तर प्राप्त भइरहेको अवस्था छैन,” उनले भने ।

ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका मध्ये ८० प्रतिशतको शल्यक्रिया गर्नुपर्ने हुन्छ । “त्यस्ता बिरामीका लागि एमआरआई अनिवार्य गर्नुपर्ने हुन्छ,” उनले भने, “ट्रमा सेन्टरमा एमआरआई नहुँदा दैनिक २० देखि २५ जना बिरामी निजी संस्थामा गएर एमआरआई गराउन बाध्य छन् ।” आकस्मिकमा आउने बिरामीलाई भने सँगैको वीर अस्पतालमा एमआरआई गर्ने गरिएको छ । वीर अस्पतालमा सोही अस्पतालका बिरामीले पनि तत्काल पालो पाउँदैनन् र कुर्नुपर्ने अवस्था छ । वीर अस्पतालमा दिउँसो मात्र एमआरआई सेवा उपलब्ध छ । ट्रमा सेन्टरमा ल्याइएका बिरामी कतिपयलाई कुनै पनि समयमा एमआरआई गराउनुपर्ने अवस्था रहन्छ । -गोरखापत्र दैनिक

 

प्रतिक्रिया