

शंकर ग्याँस उद्योगको ‘व्यापार’: अन्यलाई भन्दा वीर अस्पताललाई किलोमै १० रुपैयाँ बढीमा ‘बिक्री’ !
कर्मचारीकै सेटिङमा ३ वर्षदेखि टेण्डर नखुलाएर वार्षिक करोडौं घोटाला

काठमाडौं – अनिमितता र भ्रष्टाचारमा जकडिएको वीर अस्पतालमा पछिल्लो समय अर्को नयाँ भ्रष्टाचार ‘काण्ड’ बाहिर आएको छ ।
वीर अस्पतालमा बिरामीलाई दैनिक जसो आवश्यक पर्ने अक्सिजन ग्यास खरिदमा चरम अनियमितता भएको बाहिर आएको हो । कोभिडको समयदेखि शंकर अक्सिजन ग्यास उद्योगले वीर अस्पतालमा सेटिङकै भरमा अक्सिजन सप्लाई गर्दै आएको छ ।
सरकारी नियमअनुसार प्रत्येक आर्थिक वर्षमा टेण्डर निकाल्नुपर्नेमा खरिद इकाईका कर्मचारीले विगत ३ वर्षदेखि अक्सिजन ग्यास खरिदका लागि टेण्डर समेत निकालेका छैनन् ।
उक्त उद्योगले कर्मचारीसँगको मिलेमतोमा वीर अस्पताललाई महंगो शुल्कमा अक्सिजन बेचिरहेको भेटिएको छ । अन्य अस्पतालहरुमा भन्दा प्रतिकिलो १० रुपैयाँ महंगो दरमा अक्सिजन बेचेर वीरबाट वार्षिक करोडौं रुपैयाँ घोटाला भएको पत्ता लागेको छ ।
उक्त उद्योगले भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पताललाई प्रतिकिलो २९.७० रुपैयाँका दरले बेचिरहेको छ भने वीर अस्पतालले भने ३९ रुपैयाँ प्रतिकिलोको दरले खरिद गरिरहेको भेटिएको छ ।
वीर अस्पताल र ट्रमा सेन्टरमा मासिक एक लाख ५० हजार किलो अक्सिजन खपत हुने अनुमान गरिएको छ । वीर अस्पतालले १० रुपैयाँ प्रतिकिलो बढीमा अक्सिजन खरिद गरेको भेटिएको हो । यस हिसाबमा सिधा अर्थमा मासिक १५ लाख रुपैयाँ बढी मूल्यको भ्रष्टाचार भइरहेको छ । यस हिसाबले ३ वर्षमा करिब साढे ५ करोड रकम अनियमितता भएको छ ।
वीर अस्पतालको खरिद ईकाईमार्फत् अस्पतालले आपूर्ति गर्ने हजारौं वस्तुमध्येको एक सामान ग्यासमा त वार्षिक झण्डै २ करोडको अनियमितता हुने रहेछ भने अन्य सामाग्रीहरुमा कति भ्रष्टाचार हुन्छ, त्यसको कल्पना समेत गर्न नसकिने अवस्थामा देखिएको छ ।
उक्त कम्पनीले महाराजगञ्जस्थित टिचिङ अस्पताललाई प्रतिकिलो ३३.३० रुपैयाँमा टेण्डर हालेको छ । यस अर्थमा वीर अस्पताललाई मात्र अन्यलाई भन्दा महंगो दरमा बेचिरहेको छ, त्यसको प्रमुख कारण भनेको वीरका खरिद इकाईका केही भ्रष्ट कर्मचारीको कारण नै हो भन्न सकिन्छ, किनभने यो इकाइका कर्मचारीहरु विगत लामोसमयदेखि अस्पतालका लागि आवश्यक पर्ने विभिन्न इक्विप्मेन्ट, औषधी खरिद प्रक्रियामा विवादित बन्दै आएकाले अक्सिजन जस्तो संवेदनशील वस्तुमा पनि भ्रष्टाचार गरिरहेका छन् ।
वीर अस्पतालको उक्त ईकाईमा लामोसमयदेखि कर्मचारीहरु सरुवा नहुने र सरुवा भएकाले पनि कतिपय कर्मचारीहरुले मन्त्री र राजनीतिक दलका नेतृत्वसम्मको रवाफ देखाई रमाना नलिई काम गरिरहेको पाइन्छ ।

