

टर्च र पानी मात्रै बोकेर मर्दी बेस क्याम्प हिँडेका मिचेल बेपत्ता, खोजी कार्य जारी

काठमाडौं- कास्कीको पोखरा–मर्दी ट्रेकमा गएका एक विदेशी नागरिक बेपत्ता भएका छन् ।
हिजो(शनिबार) बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल लियू नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।
आफ्नो झोला होटलमै छाडेर टर्च लाइट र पानीको बोतल मात्रै बोकेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी कार्य भइरहेको वडाध्यक्ष गुरुङले बताए । आज बिहान वडा प्रहरी कार्यालय बगर र गाउँपालिकाबाट एक जना मिचेलको खोजीमा बेस क्याम्पतर्फ गएको उनले जानकारी दिए । टोली हाई क्याम्पभन्दा माथि पुगेसकेको उनले बताए ।
सम्पर्कविहिन मिचेलको बारेमो प्रहरी र दूतावासलाई गराइएको वडाध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
मिचेल एक्लै मर्दी हाई क्याम्प पुगेको जनाइएको छ । उनले गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा आफ्नो थोरै परिचय मात्रै खुलाएका छन् ।

