

यी हुन् बालकुमारी घटनामा प्रहरीको कमाण्ड गरेका विवादित डिएसपी लम्साल

काठमाडौं – दुईजना युवाको ज्यान जानेगरी शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा प्रहरीतर्फको कमाण्ड डिएसपी उमेश लम्सालले गरेका थिए । उनकै कमाण्डमा रहेको १२५ जनाको प्रहरीको धरपकडमा परी दैलेख र अछामका दुई युवाले ज्यान गुमाएका थिए ।
सरकारले उक्त घटनामा प्रहरीको कमाण्ड गरिरहेका डिएसपी लम्सालका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई पनि निलम्बन गरेको छ ।
त्यसका साथै सरकारले इपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई पनि निलम्बन गर्ने तयारी गरिसकेको छ भने ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सिद्धिविक्रम शाहलाई पनि हेडक्वार्टर तानेको छ ।
डिएसपी लम्साल यसअघि महाराजगञ्जमा रहँदा २०७७ सालमा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए । त्यस्तै उनी जुवाडे पक्राउको काण्डमा पनि विवादमा परेका थिए ।

