
किन खोजिदैछ पशुपति क्षेत्र विकास कोषकी ‘इडी’को शैक्षिक प्रमाणपत्र ?
काठमाडौं – भरखरै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरिएको विषय विवादित बन्दै गएको छ । उसो त उनै पुनमाथि पशुपतिको क्षेत्रमा इसाई धर्मालम्बीहरुको चिहान खर्ने अभियान चलाएको आरोप पनि लागेको थियो । त्यसैगरी उनी इसाई धर्म मान्ने गरेको पनि आरोप उनको नियुक्तिपछि लागिरहेको छ । तर त्यसको पुष्टि भने हुन सकेको छैन ।
गत बिहीबार मात्रै पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त गरेको थियो । तर एक हप्ता नपुग्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुनलाई नियुक्त गर्ने निर्णयको कागजात माग गरेको छ ।
हिजो बिहीबार सिहंदरबारमा बसेको समितिको बैठकले पुनलाई नियुक्त गर्ने निर्णयको कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।
समितिले कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित हुने कागजातहरू निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । सोही मागकै कारण भारतमा अध्ययन गरेकी पुनसँग शैक्षिक प्रमाणपत्रको समकक्षता नरहेको आशंका भएको हो कि भन्ने चर्चा भइरहेको छ ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी पुन यसअघि पत्रकारिता क्षेत्रमा कार्यरत थिइन् । केही वर्ष पहिले नेपाल टेलिभिजनमा अंग्रेजी समाचारको प्रस्तोता रहेकी लक्ष्मी पुनले लोकसेवाले लिएको परीक्षा पास गरेको स्रोत बताउँछ । तर, अन्तरर्वार्तामा शैक्षिक योग्यताको प्रमाणपत्र माग्दा उनले बुझाउन नसकेका कारण नाम ननिस्केको स्रोतको दाबी छ । सोही कारण उनले नेपाल टेलिभिजन पनि छाड्नुपरेको बताइएको छ । उनले माओवादी सञ्चार मन्त्रालयमा हुँदा नेपाल टेलिभिजनमा नियुक्ति पाएकी थिइन् ।
पुनले भने भारतमा जन्मेका कारण स्नातोकोत्तरबाहेक अन्य शैक्षिक योग्यताको प्रमाणपत्र भारतीय शैक्षिक संस्थाको भएको बताएकी छिन् । ती शैक्षिक प्रमाणपत्रको समकक्षतासमेत आफूसँग भएकाले मदन भण्डारी मेमोरियल कलेजबाट स्नातोकोत्तर गरेको उनको दाबी छ ।
उनले ती सबै प्रमाणपत्रको समकक्षता निवेदनसहित पशुपति क्षेत्र विकास सञ्चालक परिषदमा पेश गरिसकेको दाबी गरेकी छिन् । आफ्नो नियुक्तिको विषयलाई बेकारमै विवादित बनाइरहेको उनको गुनासो छ ।
उनले कोषका पूर्व कार्यकारी निर्देशकले आफ्नाविरुद्ध अन्तर्वार्ता दिइरहेको समेत आरोप लगाएकी छिन् । उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘मैले मेरो कार्यकाल सकिएपछि नयाँ आउनेलाई माला लगाइदिएर स्वागत गरेर बिदा हुनेछु । तर म भन्दाअघि यस पदमा रहेकाले आफ्नो कार्यकाल पूरा गरेर पनि मेरो बिरुद्ध अन्तर्वार्ता दिदै हिड्ने गर्नु भएको छ । उहाँलाई गलहत्याइएको पनि होईन, कार्यकाल पूरा हुँदासम्म बिना कुनै हस्तक्षेप काम गर्न दिइएको हो । मलाई लागेको थियो बधाई दिनुहोला, आफ्नो अनुभव शेयर गर्नुहोला, तर त्यस्तो भएन । आफू बस्दा सब ठिक अरु आउदा बेठिक ? यो कस्तो उच्च संस्कृति हो महासय ?’



आशिष मल्ल |
