
नेपालमा भविष्य नदेख्नेहरु…
सरकारी इन्जिनियर, बैंकका हाकिमदेखि प्रहरीका इन्स्पेक्टरसम्म विदेश पलायन
राम रिमाल (नाम परिवर्तन): बागमती प्रदेश सरकारको सातौं तहको जागिर खाइरहेका नुवाकाेट जन्मथलो भएका इन्जिनियर । सरकारी जागिर, त्यही माथि सातौं तहको इन्जिनियर जस्तो पद । अधिकांश नेपालीको सपना बन्ने गरेको उक्त जागिर छाडेर क्यानडा प्रस्थान गरेका छन् । अहिलेको भन्दा सुन्दर भविष्यको कल्पनाका साथ ।
दिपक थापा (नाम परिवर्तन): सनराईज बैंकका एउटा डिपार्टमेन्टका हाकिम । बैंकको जागिर खानुभन्दा उपत्यकाको राम्रो ‘ल फर्म’मा काम गरेर सफल अधिवक्ताको पहिचान बनाइसकेका व्यक्ति । कानुनी पेशाका व्यक्तिले बैंकको जागिर खाए, जसमा १०/१५ जना कर्मचारीहरुलाई काम लगाइरहेका थिए । तर, उनी दशैं अगाडि एक्कासी जागिर छाड्दै अस्ट्रेलिया हानिए । उनै दिपककी श्रीमती (कल्पु) पनि ‘ल’ फिल्डमा राम्रै गरिरहेकी थिइन् । विवाह अगाडि नै दुवैले नेपालको कानुनी क्षेत्रमा काम गरिरहे । तर, एक्कासी उनीहरुले नेपालको प्रतिष्ठित जीवनयापन छाड्दै विदेशीए ।
निर्मल शर्मा (नाम परिवर्तन): पूर्वी नवलपुर जिल्लाकै सर्वोत्कृष्ट बोर्डिङ स्कूलका अंग्रेजी शिक्षक । जसले उक्त विद्यालयका ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई अंग्रेजी पढाउँथे । बोर्डिङ स्कूलबाट नियमित तलब र ट्युसन फि समेत गरी महिनाकै ८० हजार भन्दा कम कहिल्यै थापेनन्, जागिर खाएको २ वर्षको अवधिमा । उनी पनि एक्कासी श्रीमती र एउटी छोरी बोकेर क्यानडाको टिकट काटिसकेपछि मात्र विद्यालयमा जानकारी गराएर हिँडे ।
यी नेपालका प्रतिनिधि घटनामात्र हुन्, जो नेपालमा जागिर नपाएर विदेशिएका भन्दा पनि सपना पूरा गर्ने स्थलको खोजिमा विदेशको पाइला चालिरहेका छन् । नेपाल पछिल्लो समय ‘कामदार’ सप्लाई गर्ने मुलुकका रुपमा स्थापित हुँदै गइरहेको छ, चाहे त्यो निम्नस्तरका कामदार हुन् वा दक्ष र योग्य कामदार हुन् ।
दुई हात मुख जोड्नका लागि समस्या भएका व्यक्तिहरु रोजगारीका लागि विदेशीनु कुनै पनि नयाँ कुरा नभए पनि पछिल्लो समय नेपालमै स्थापित भइसकेका व्यक्तिहरु पनि विदेशिनु चाहिँ पक्कै शुभ संकेत होइन । पछिल्लो समय नेपालमा सबैभन्दा राम्रो मानिने बैंकका कर्मचारी, बोर्डिङ स्कुलहरुमा पढाउने शिक्षकहरु विदेशीने क्रम बढ्दै गइरहेको छ । विशेष गरी उनीहरु अंग्रेजी भाषामा दक्ष हुनुका साथै विदेश जानका लागि आवश्यक पर्ने परिक्षाहरुमा राम्रो मार्कस् ल्याउन सक्ने भएका कारण उनीहरु विदेशिएका हुन् ।
त्यसबाहेक १५ हजार कामदारका लागि डेढ लाख भन्दा बढीले आवेदन दिनु विदेश मोहको अर्को उदाहरण हो भने नेपाल प्रहरीको इन्स्पेक्टर जस्तो तहका लागि पहिले जस्तो चाम नहुनु नेपालप्रतिको मोहभंग नै हो । कोरिया जस्तो मुलुकमा गएर काम गर्नका लागि कतिपय सरकारी जागिर खाएका अधिकृतस्तरसम्मका व्यक्तिहरुले फर्म भरिरहेका छन् ।
त्यस्तै नेपालको सुरक्षा निकायमा कार्यरत तल्लो देखि उच्च तहका कर्मचारीहरुले पनि विस्तारै विस्तारै जागिर छाडेर विदेशिइरहेका छन् । ती सुरक्षा निकायहरुले करिब १/१ महिनाको फरकमा सम्पर्कमा आउन भनेर सूचना जारी गरिरहेको हुन्छ । त्यसरी नाम सार्वजनिक गरिएकाहरु अधिकांश विदेश गइसकेको पाइएको छ । त्यसको ज्वलन्त उदाहरणका रुपमा हालै रुस–युक्रेन युद्धमा संलग्न रहेका कतिपयबाट पुष्टी हुन्छ । उनीहरु यसअघि नेपालकै सुरक्षा निकायमा कार्यरत व्यक्तिहरु नै रहेको खुलेको थियो ।
पछिल्लो समय नेपालमा देखिने जनशक्ति भनेको विदेश जान नसक्नेको रुपमा आफूलाई दर्ज गराउनुपर्ने अवस्था आएको छ । अमेरिकाले हरेक वर्ष खुलाउने डिभि चिठ्ठाका लागि पचासौं हजार नेपालीले फर्म भरेको तथ्यांक ‘फेक’ होइन ।
सरकारी जागिरको उच्च तहमा रहेका व्यक्तिहरु विदेशप्रतिको मोह बढ्दै गइरहेको अहिलेको परिवेशमा दुई हात मुख जोर्नकै लागि साउदी, कतारको खाडीमा काम गर्न गएकाहरुलाई नेपाल फर्काउँछौं भनेर सस्तो लोकप्रियताको भाषण दिनेहरुकै कारण अहिलेको परिवेश सिर्जना भएको हो ।
अहिले पछिल्लो समयमा विमानस्थलबाट दैनिकजसो २५ सय देखि ३ हजारसम्म युवायुवती विदेश गइरहेका छन् । उनीहरु सबै जना कुनै तहसम्मको योग्य, दक्ष जनशक्ति नै हुन् । जसले उनीहरु आफैं मात्र गइरहेका छैनन् । नेपालमा हासिल गरेको सिप र दक्षतालाई विदेशमा गएर पैसासँग साट्न गएका हुन् । उनीहरु आफू र आप्mनो ज्ञानमात्र नभएर लाखौं रुपैयाँसमेत लिएर गएका छन्, जसले नेपालको अर्थतन्त्र दिनप्रतिदिन उँधो लगाउन इँटाको काम गरिरहेको छ ।
नेपालप्रति वितृष्ण देखा पर्नु अस्थिर सरकार र सरकारमा रहेकाहरुको नियत नै हो । अधिकांश समय सत्ताको नेतृत्व गरिरहेका राजनीतिक दलहरुप्रतिको वितृष्णा नै प्रमुख कारण हो । त्यसका साथै पछिल्लो समय पुराना दलहरुको कामलाई प्रतिस्थापन गर्छु भन्दै आएका नयाँ दलहरु पनि उस्तै देखिन थालिसकेकोले नेपाली युवाहरु थप विदेशिन बाध्य भएका छन् ।
पछिल्लो समय विदेशका नेपालीहरुलाई फिर्ता ल्याउँछु भनेर राजनीतिक मुद्दा लिएर राजनीतिमा हाम फालेका रवि लामिछानेकै कारण पनि विदेशबाट नेपाल फर्कनेभन्दा पनि नेपालबाट विदेश जानेहरुको लर्को बढेको हुनसक्ने पनि देखिन्छ । किनभने पछिल्ला समय रवि जुन–जुन ‘काण्ड’मा मुछिएका छन्, ती काण्डहरु रविका लागि नेपाली जनताहरुले सुन्न नचाहेका काण्डहरु हुन्, ती विस्तारै प्रमाणित हुँदै जानुले पनि नेपालीलाई निराश बनाएको छ ।



सुन्दर पाण्डे |
