
एनएसएल: क्वालिफायरमा आज पोखरा र धनगढी भिड्दै
काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थण्डर्स र धनगढी एफसी भिड्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे हुनेछ।
लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन्।
दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन्। धनगढी प्रतियोगिताको साविक उप विजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।
खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ । उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ ।
लिगको अन्तिम खेलमा धनगढीलाई बराबरीमा रोकेको पोखराले लिग चरणमा सर्वाधिक ४ जित निकालेको छ। लिग चरणको प्रदर्शनले पोखरालाई दोस्रो संस्करणको उपाधिको मुख्य दाबेदारको रूपमा अघि सारेको छ।
प्रतियोगितामा शानदार सुरुवात गरेको धनगढीले पछिल्लो खेलमा पोखरासँग बराबरी खेलेको थियो। यसअघि झापासँग २–० को हार व्यहोरेको थियो।



कागजपत्र |
