सशस्त्र प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका नगाल रसियामा अस्ताए


काठमाडौं– दार्चुलाको महाकाली नगरपालिका–२ का कुन्दन सिंह नगालले १४ वर्ष सशस्त्र प्रहरी बलमा जागिर गरे । तर, त्यहाँ जागिर खाएर खासै प्रगति होला भन्ने नठानेका उनी ५ वर्षअघि उपदानमा निस्केका थिए ।

उनका निकस्थ प्रहरी सहकर्मीका अनुसार कुन्दन आफ्नो परिवारको ‘भविष्य’ नदेखेर तथा उचित पारिश्रमिक नपाइएकै कारण जागिर छोड्ने निर्णयमा पुगेका थिए । ‘उहाँ सहायक हवल्दारको रुपमा कार्यरत हुनुहुन्थ्यो । हामीलाई तालिम पनि उहाँले दिनुभएको थियो’ ती पूर्व प्रहरीले भने ।

त्यसपछि कुन्दन दुबईको सेनामा जागिर गर्न गए । त्यहाँ पनि उनले करिब ३ वर्ष जागिर गरेका थिए । तर कोरोना महामारी फैलिएसँगै उनी त्यहाँको जागिर छोडेर नेपाल फर्किए । नेपाल फर्र्किएपछि उनले बसाईसराई गरेर आफ्ना दुई छोरासहित श्रीमतीलाई कञ्चनपुरको महेन्द्रनगर लगेका थिए । छोराहरु महेन्द्रनगरकै एक विद्यालयमा पढ्छन् । उनको महेन्द्रनगरमै घर निर्माणाधीन अवस्थामा छ । घर बनाउँदै गर्दा उनी दुबई हुँदै रसियन सेनामा भर्ना हुन गएका थिए ।

यहि दसैंअघि उनी रसियन आर्मीमा भर्ना समेत भए । ७ नोभेम्बर अर्थात कात्तिक २१ गते उनले आफ्नो परिवारसँग आफू ‘रेडजोन’ मा जान लागेको भन्दै कुराकानी गरेका थिए । ‘अब म रेडजोनमा जान लागे । त्यहाँ जोखिम हुन्छ । बाँचिन्छ की मरिन्छ थाहा छैन’ उनले भनेका कुरा उद्धृत गर्दै उनका दाजु रविन्द्र सिंह नागलले भने ।

उनका अनुसार कार्तिक २२ गते अर्थात ८ नोभेम्बरमा कुन्दन युद्धमा घाइते भएको भन्ने खबर त्यहाँ कार्यरत उनका सहकर्मीले दिएका थिए । त्यसपछि कुन्दन सम्पर्कविहीन बनेको रविन्द्रले बताए ।

यता महेन्द्रनगरमा कोठा भाडामा लिएर बस्दै आएकी श्रीमती प्रतिक्षालाई भने उक्त जानकारी थिएन । उनी आफ्ना श्रीमानको खबर आउने पखाईमा थिइन् । तर अचानक हिजो(बुधबार) परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिक कुन्दनसिंह नगालको रुस–युक्रेन युद्धमा ज्यान गएको भनेर जानकारी दियो ।

तर, ती मृतक दार्चुलाकै कुन्दन हुन् या होइनन् भन्नेमा परिवार अलमलमा थियो । परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको राहदानी नं. ०९४७३६३२ को आधारमा मात्रै मृतक आफ्नो भाई रहेको पुष्टि भएको दाई रविन्द्रले बताए । उनका अनुसार भाईको शव पाउन नसकिने बताइएको छ ।

श्रीमानको मृत्युले प्रतिक्षा विक्षिप्त बनेकी छिन् । उनी हाल कुरा गर्ने अवस्थामै नरहेको मृतकका भाई नाता पर्ने बिक्रम कुँवर बताउँछन् । ‘घर निर्माणको काम पनि अन्तिमतिर पुगेको थियो । ठिक्क दाईको मृत्युको खबर आयो । अब उनका दुई छोराको पालनपोषणमा समस्या हुने देखिएको छ’ उनले भने, ‘दाईले त्यहाँबाट पैसा पठायो या पठाएन भन्ने भने यकिन छैन ।’

कुन्दन दुबई हुँदै रुस पुगेका थिए । उनीजस्तै कञ्चनपुर घर भएका अन्य दूई जना पूर्व सशस्त्र प्रहरी पनि हाल रसियन आर्मीमा कार्यरत छन् । उनीहरु भने सम्पर्कमा रहेको उनका एक पूर्व सहकर्मी बताउँछन् । नेपालमा काम अनुसारको पारिश्रमिक नपाएर ती दुवैजनाले पनि कुन्दन जस्तै प्रहरीको जागिर छोडेको बताइएको छ ।

कुन्दनसहित रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ । यसअघि रुसी सेनामा भर्ती ६ जना नेपाली युवकले ज्यान गुमाएका थिए ।

त्यस्तै, रुसी सेनामा भर्ती भएका चार जना नेपाली युवक युक्रेनमा बन्दी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युक्रेनमा बन्दी बनाइएका चारै जनाको रिहाइका लागि रेडक्रस लगायत संघसंस्थाका माध्यमबाट कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया