

सङ्कल्प यात्रा’ पूर्ण सफल भएको एमालेकाे निष्कर्ष, दस्ताबेज सार्वजनिक गर्ने तयारी

काठमाडौँ – नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ ।
मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म चलाएकाे सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
‘सङ्कल्प यात्रा अत्यन्त सफल भयो, व्यापक जनपरिचालन भयो । नेता कार्यकर्तामा उत्साह भरियो भन्ने पहिलो निष्कर्ष निस्कियो’, उनले भने, ‘मध्यपहाडी राजमार्ग क्षेत्रका जनताका समस्या पहिचान गर्ने अवसर मिल्नुका साथै ठुला राजनीतिक दल असफल भए भन्ने भाष्य पनि खण्डित भएको छ ।’
‘समस्या र सम्बोधनका उपायबारे लिखित रूपमै धेरै सुझावहरू आएका छन् । ती सुझावहरूको अध्ययन गरेर त्यसलाई एकीकृत गर्ने काम हुन्छ’, उपाध्यक्ष ज्ञवालीले भने, ‘एकीकृत गरेर दस्ताबेज नै बनाउने हाम्रो तयारी छ ।’
एमालेले पुस ८ गते यात्राका उपलब्धिबारे अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । ‘पत्रकार सम्मेलनमा संक्षिप्त जानकारी दिइन्छ विस्तृत दस्ताबेज तयार हुन समय लाग्ने भएकाले त्यो अलि पछि नै सार्वजनिक हुन्छ’, नेता ज्ञवालीले भने, ‘दस्ताबेजका आधारमा समस्याहरू सम्बोधन गर्न सरकारलाई संसदमार्फत दबाब दिन्छौ ।’
एमालेको उक्त अभियानले एमालेकै नेता कार्यकर्ताबिच पनि आपसमा चिन्ने र आत्मीयता बाँड्ने काम भएको नेताहरूले जनाएका छन् । यात्राका क्रममा सम्बन्धित जिल्लाका नेता कार्यकर्ता, जनप्रतिनिधिहरूले त्यस क्षेत्रका जनताका समस्या लिखित रूपमै एमालेलाई बुझाएका थिए । यात्राले पहिचान पक्षधरले फैलाएको भ्रम समेत चिरिएको एमालेको दावी छ ।

