

रामराजाप्रसाद सिंह प्रतिष्ठान बनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ – सप्तरीका युवाहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सप्तरी युथ नेपालका तर्फबाट बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर युवाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्थानीयबासीको १० हजार हस्ताक्षर बुझाएका छन् ।
प्रतिष्ठान निर्माण गर्न सरकारले ढिला गरेपछि युवाहरूले हस्ताक्षर संकलन गरी बुझाएर सरकारलाई दबाब दिएका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानको काम अघि बढाउने प्रतिबद्धता जनाए । उनले प्रष्ठिानको रिक्त पदाधिकारी नियुक्ति लगायतका सबै काम अघि बढाउने बताए ।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु, कानुनी र प्राविधिक सबै कुरा अघि बढ्छ,’ प्रधानमन्त्री दाहालले भने ।
सरकारले सप्तरीको राजबिराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानको शिलान्यास समेत भइसकेको छ । तर काम भने अघि बढेको छैन । सरकारले प्रतिष्ठानमा पदाधिकारी नियुक्त र आवश्यक बजेट भने दिएको छैन ।

