प्रधानमन्त्री ओलीका पक्षमा ९२ सांसद रहेको बस्नेतको जिकिर


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाए । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिए ।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए । उनले भने,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’

बस्नेतले अहिले दाहाल–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे । उनले दाहाल–नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्थापनि आउने बस्नेतको भनाई छ । उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुँगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समकिरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाई छ । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणी गरे । उनले भने,‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ ।’

प्रतिक्रिया