
पर्यटन मन्त्रालयले भन्यो–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ यथावत
काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डिलिङ सेवाको जिम्मेवारी नेपाल वायुसेवा निगमसँग यथावत रहेको जनाएको छ ।
निगममा आन्दोलनरत कर्मचारी युनियनहरुलाई मन्त्रालयले एक पत्र लेख्दै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । साथै ग्राउण्ड ह्याण्डिलिङ सेवाबारे सरकारले कुनै निर्णय नगरेको समेत पत्रमार्फत बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निजी सचिवालयका शाखा अधिकृतले लेखेको पत्रमा ग्राउण्ड ह्याण्डिलिङ सेवा सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभइसकेको उल्लेख छ ।
तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरिसकेको छ ।
मंसिर १५ गते निर्णय गर्दै प्राधिकरणको व्यवस्थापनले उक्त जिम्मेवारी अन्य विमान सेवा कम्पनीलाई प्रतिस्पर्धाको आधारमा गराउने बताएको हो ।
त्यसपछि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका थिए ।




कागजपत्र |
