

वीरेन्द्रनगरमा बसको ठक्करबाट एकजनाको मृत्यु, अस्तव्यस्त बन्याे सडक

सुर्खेत – शनिबार साँझ ६ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ सुब्बाकुना नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्युु भएपछि सिडकमा टायर बालेर प्रदर्शन गरिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिट बस्ने २६ वर्षीय मनोज सुनार घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका सुनारलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो ।
अस्पतालले केही समयपछि सुनारलाई मृत घोषणा गरेको थियो । उनको शवलाई अहिले पनि अस्पतालमै राखिएको छ । अहिले मृतकका परिवारले सुब्बाकुनामा टायर बालेर आन्दोलन गरेका छन् भने जिल्ला प्रहरी कार्यालय अगाडि विभिन्न नारा जुलुससहित विरोध प्रदर्शन गरेका छन् ।
मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय अगाडि ‘हत्यारालाई फाँसी दे’, ‘पीडित परिवारलाई न्याय दे’, ‘नाबालक बच्चाको स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर’, जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको युनाईटेड एजुकेशन एकेडेमी नेपालगन्ज उपमहानगर पालिका-१२ बाँकेको शैक्षिक भ्रमणमा रहेको भे १ क ११२२ नम्बरको बसले विपरीत दिशातर्फ आइरहेको भे ३ प ९७४० नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बस चालक बाँकेको नेपालगन्ज उपमहानगर पालिका-११ बस्ने ५९ वर्षीय रमेशकुमार बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

