धरौटीमा छुटेका खाणलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभाग लगिने
काठमाडौं- उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको थुनछेक आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई ३० लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो । धरौटी बुझाए खाण रिहा हुने भए पनि प्रहरीले भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं रकम उठाएर ठगी गर्दै भ्रष्टाचार गरेको र अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै प्रहरीले उनलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको हो ।