भिजिट भिसाको नक्कली कागजपत्र बनाउने तीन जना सार्वजनिक


काठमाडौं- नेपाल प्रहरीले भिजिट भिषामा नक्कली कागजपत्र बनाएर विदेश पठाउने कार्यमा संलग्न गिरोहका केही व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अनिल यादव र होम पोखरेललाई  पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार विभिन्न देश जान लागेका नक्कली कागजपत्र बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरी  सार्वजनिक गरिएको हो ।

बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी तथा युरोपेली मुलुक पठाउनेसँग सेटिङमा मिलेर काम गर्ने उजुरी परेको आधारमा नियन्त्रण लिएको कार्यालय प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार सेटिङ गरेबापत अध्यागमनका कर्मचारीले एकजनाको सेटिङ गरेबापत ४० देखि ५५ हजार रुपैयाँ लिने गरेका थिए ।

हालसम्म अनुसन्धानका लागि एक हजार ५१३ राहदानी प्रहरीलाई प्राप्त भएका छन् । तीमध्ये छानबिनपछि एक हजार २६७ सम्बन्धित व्यक्तिलाई बुझाइएको छ भने २४६ राहदानीको अनुसन्धान जारी छ ।

विदेश जानेले नक्कली अध्ययनको शैक्षिक प्रमाणपत्र, बैङ्क स्टेटमेन्टलगायत तयार गरेको पाइएको छ । उक्त कार्यमा हालसम्म ३२ जना पक्राउ परेका छन् । तीमध्ये २१ जनालाई मुद्दा चलाइएको छ ।

प्रतिक्रिया