
एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने तीन जना पहिचानवादी पक्राउ
काठमाडाैं – नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने तीन जना पहिचानवादी हलेसीबाट पक्राउ परेका छन् ।
सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन । खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको बताए ।
पहिचानवादीहरूले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन् ।
यस्तै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले आफूहरूले एमालेको अभियानलाई शान्तिपूर्ण ढंगले अवरोध गर्ने बताए । ‘अवरोध गर्ने हो, बाटो बन्द गर्ने हो शान्तिपूर्ण ढंगले अवरोध हुन्छ,’ उनले भने ।
उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताए । उनले जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको जानकारी दिए ।



कागजपत्र |
