१४ किलो सुन समातिएको ३ दिनमै विमानस्थलबाट साढे ६ किलो सुन पास


कठमाडौं– गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परे । राति राति ११ः४० मा फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ बाट काठमाडौं उत्रिएका गोरखाका चन्द्र घलेलाई विमानस्थलस्थित भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।

पूर्व सूचनाका आधारमा विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको विशेष टोलीले चन्द्रलाई पक्राउ गरेको थियो । ‘सुन तस्करी हुँदैछ’ भन्ने सूचनाका आधारमा उनलाई विमानमा झर्नेबित्तिकै समातिएको थियो ।

उनलाई समातेपछि उनको बयानकै आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि भन्सार क्षेत्रबाहिरबाट पक्राउ गरेको थियो ।
बरामद भएको सुन पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने बताएका थिए ।

पक्राउ परेका घलेले उक्त सुन अध्यागमनको शौचालयबाहिर फोहोर फाल्ने स्थानमा राख्ने र त्यहाँबाट सरसफाई कर्मचारीले निकाल्ने योजना रहेको खुलेको थियो । उक्त कुराले विमानस्थलका कर्मचारी पनि सुन तस्करीमा संल्गन भएको हुनसक्ने शंका पैदा हुन्छ ।

उक्त सुन समात्न आफ्नो टीमले घलेलाई दुबईबाट पछ्याइरहेको बताएका भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले अपरेसन सफल बनाउन रातभर खटिएको बताएका थिए ।

तर, उनले आफ्नो मेहनतको तारिफ गरेको उक्त पत्रकार सम्मेलनको २ दिनपछि नै पुनः हिजो(शनिबार) राति विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । फ्लाइ दुबईबाट काठमाडौं आएका इजिप्टका नागरिक साढे ६ केजी सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका इजिप्टीयन नागरिक एफ जेट ५७३ फ्लाइबाट शनिबार राति ११ बजेर ५१ मिनेट ल्याण्ड भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले बताए ।

भन्सार पास भइसकेको सुन सिभिलमा खटिएको प्रहरीले शंका लागेपछि जाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको बताइएको छ । सुन ल्याउने इजिप्टीयन नागरिकसँगै २ जना सुडानी नागरिक पनि पक्राउ परेका छन् ।

यसरी भन्सार पास भइरहेको अवस्थामा सुन बरामद हुनुले भन्सारका कर्मचारीमाथि नै शंका उत्पन्न भएको छ । ३ दिनअघि आफ्नो विशेष अपरेसनकै कारण १४ किलो सुन समातिएको दाबी गर्ने भन्सार कार्यालयको फितलो चेकजाँच कै कारण हिजाे सुन पास भएको पुष्टि हुन्छ ।

अस्ति आस्टकोटमा सुन ल्याएका घलेले जस्तै हिजो पनि इजिप्टीयन नागरिकले हाफ ज्याकेटमै पकेट बनाएर ६ वटा बिस्कुट जस्तो अर्ध ठोस सुन ल्याउनुले भन्सारका कर्मचारी चेकजाँचमा चुकेको अथवा सेटिङमा सुन पास भएको हुनसक्ने एक अधिकारी बताउँछन् ।

गत २ साउनमा पनि भन्सार पास गरेर ट्याक्सीमा हाली बाहिर लैजाँदै गर्दा  राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार परिसरबाट ६० किलो ६८९ ग्राम सुन बरामद गरेको थियो ।

प्रतिक्रिया