

नेपालका प्रतीक युक्रेनी सेनाको कब्जामा, भन्छन् –रूस नआउनुस् [भिडियोसहित]

काठमाडौं– रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका दाङको बिजौरका प्रतीक पुनलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या ३ पुगेको छ ।
यसअघि युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडिओ सार्वजनिक भएको थियो । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । त्यस्तै गत असोज २७ गतेदेखि बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन् ।
अहिले सार्वजनिक भएको भिडियोमा प्रतीक पुनले आफूलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको बताएका छन् । उक्त भिडियो युक्रेनका पत्रकार आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेका हुन् । उक्त भिडियोमा प्रतीकले आफू विद्यार्थी भिसामा रुस आएको बताएका छन् । रूसको राजधानी मस्कोमा दुईतीन महीना बसेपछि आफूल एक जना अजेन्ट मार्फत सेनामा भर्ती भएको उनले बताएका छन् ।
उनले आफूलाई सम्झौतापत्र नदिएकाले युद्धमैदानबारे अज्ञात रहेको बताएका छन् । ‘केही महीनाको तालीमपछि मलाई युद्धमैदानमा खटाइयो । अहिले म युक्रेनमा (युक्रेनी सेनाको कब्जामा) छु। म नेपालीहरूलाई भन्न चाहन्छु– रूस नआउनुस् । सेनामा संलग्न नहुनुस् । युद्धमा नपस्नुस्’ उनले भिडियोमा भनेका छन्, ‘उनीहरूले तपाईंलाई पैसाको लोभ दिन्छन् । रूसी पासपोर्ट पाउने आश्वासन दिन्छन् । तर, पैसा र पासपोर्ट मात्र सबथोक होइन । सेना र युद्धमा सहभागी हुन यहाँ नआउनुस् ।’

