

एनसेल बिक्री प्रकरणः राज्य व्यवस्था समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलायो

काठमाडौं — एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।
समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।
समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए । कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए।
साथै उक्त अवसरमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल बिक्री गरेको नभई बिक्रीको नाटकमात्र गरेको हुनसक्ने बताएका थिए ।

