

संसद सचिवालयका उपसचिव गैरेले महिला कर्मचारीलाई हाने झापड

काठमाडौं- संघीय संसद सचिवालयका एक उपसचिवले आफ्नै महिला सहकर्मीलाई झापड हानेका छन् । उपसचिव रामप्रसाद गैरेले आफ्नो नाम छुटेको विषयलाई लिएर शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेका हुन् ।
उक्त घटना मंगलबार भएको हो । मंगलबार बिहान करिब पौने ११ बजेतिर उपसचिव गैरेले विवरण शाखाभित्र छिरेर ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेको एक अधिकारीले बताए ।
आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन् । यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेका छन् ।
घटनापछि स्वास्थ्य परीक्षण गर्दा तण्डुकारमाथि हातपात भएको देखिएको स्रोतले जानकारी दिएको छ ।

