रुसी सेनामा भर्ती भएका काभ्रेका ढकाल युक्रेनी सेनाको कब्जामा (भिडियोसहित)


काठमाडाैं – रुसी सेनामा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ। कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-६ ढकालथोक घर भएका सिद्धार्थ ढकाल हुन्।

करिब २ महिना अघि रोजगारीको क्रममा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए। सार्वजनिक भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको,परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन पनि सरकारसँग गुहार गरेका छन्।

सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् । ‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड गरिएको भनिएको भिडियोमा ढकालले भनेका छन्, ‘नमस्ते बुबाआमा… मलाई अहिलेसम्म राम्रो छ । पछि के हुन्छ थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर यो खबर सुनाइदिनुहोला ।’

युक्रेनी सेनाले यसअघि असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो । खत्री अझै रिहा भएका छैनन् । परराष्ट्र मन्त्रालयले ढकालको रिहाइका लागि युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासलाई पत्र पठाइसकेको जनाएको छ।

नेपाली नागरिक रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ६ जनाको निधन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ६ जना नेपालीकाे निधन भएकाे बताएका हुन्। -कान्तिपुर

भिडियोः

 

 

प्रतिक्रिया