नक्कली भारतीय आधारकार्ड बोकी नेपालीहरु क्यासिनो प्रवेश गर्ने गरेको पुष्टी !

नेपालीलाई क्यासिनो प्रवेश गराउने तीन पक्राउ


काठमाडौं – नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउनका लागि नक्कली भारतीय आधार कार्ड बनाइदिने ३ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका क्यासिनोमा गरेको सूक्ष्म निगरानीबाट यस्तो तथ्य फेला पारेको हो । यसबाट नेपाली नागरिकहरु क्यासिनोमा प्रवेश गरिरहेको यकिन गरेको छ ।

प्रहरीले क्यासिनो प्रवेशका लागि नक्कली भारतीय आधार कार्ड बनाइदिने गिरोहका दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, चिसंखुगढी गाउँपालिका–८ रातोमाटे, ओखढुंगा घर भई ललितपुर सातदोबाटो बस्ने ३९ वर्षीय नविन राई र तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौँको तारकेश्वरमा बस्ने २५ वर्षीय विनोद न्यौपानेलाई पक्राउ गरेको छ ।

प्रहरीले सुरुमा दोलखाका खड्काले भारतीय नक्कली आधारकार्ड बनाएर नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउने कार्यमा संलग्न रहेको सूचना पाएपछि अनुसन्धान गर्दै जाँदा यी तीन व्यक्ति पक्राउ परेको जनाएको छ ।

क्यासिनो नियमावली–२०७० अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेशमा रोक लगाइएको छ । यदि नेपालीलाई क्यासिनो प्रवेश गराइएमा लाइसेन्स नै रद्ध गर्ने नियमावलीमा उल्लेख छ । तर क्यासिनो माफियाहरुले ठूलो आर्थिक चलखेल गरी नेपाली नागरिकलाई भारतीय बनाएर क्यासिनो प्रवेश गराउँदै आएकोबारे समाचार अनलाइनन्यूज७ ले यसअघिदेखि नै लेख्दै आएको थियो ।

प्रतिक्रिया