

महानगरभित्रका औषधी पसललाई बालेनको अल्टिमेटम, ‘१० दिनभित्र सुधार नगरे औषधी पसल बन्द गरिन्छ’

काठमाडौं – काठमाडौं महानगर मेयर बालेन्द्र (बालेन) शाहले महानगरभित्रका औषधि पसलहरुलाई कानुनअनुसार सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् मेयर शाहले मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन्।
‘हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ,’ मेयर शाहले लेखेका छन् ।
काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरू कानुनविरीत औषधि बिक्रि वितरण भइरहेको गुनासो आएको मेयर शाहले बताए । उनले भने, महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ।’
‘काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दासमेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौं। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौं,’ उनले लेखेका छन् ।

