प्रचण्ड–नेपाललाई प्रधानमन्त्रीको आह्वान: संसदीय दलबाट वैधानिक हिसाबले हटाउनुहोस्, बैठक राख्छु


काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई संसदीय दलको नेताबाट हटाउनका लागि चुनौति दिएका छन्।

सोमबार गण्डकी प्रदेश कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्ने क्रममा ओलीले आफूले जानेरै उक्त समूहमा बहुमत केन्द्रीय सदस्य दिएको उल्लेख गर्दै भने,‘दिन सक्नेले खोस्न पनि सक्छ। जसरी अस्तिका दिन मात्रै प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएँ, मैले दिएको थिएँ।’

भाषणका क्रममा राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको कुरा गर्दा आफूमाथि खतरा रहेको पनि ओलीले बताए। सोही क्रममा उनले भने,‘मेरो ज्यान तलमाथि भए, हमला भए त्यसलाई अनौठो नमान्नुहोला। आन्दोलन र पार्टी समाप्त पार्ने कुरासँग जोडिएको छ। म नरहे पनि अचम्म नमान्नु, पार्टी रहन्छ। गतिशील हुनुपर्छ।’

प्रचण्ड–नेपालले अहिले प्रधानमन्त्री खोजीका लागि दौडादौड मच्चाएको बताएका उनले ‘दिए खान्थे मायाको दाहिने हातैले’ भन्ने गीत जस्तो देखिएको भनी टिप्पणी गरे।

कार्यकर्ताको ठूलो हुटिङबीच भाषण गरेका उनले अगाडि भने,‘संसदीय दलको नेता हटाए भयो त बैठक बोलाइदिन्छु। अपराधै गर्न सफल हुनुभयो भने विधि प्रक्रियामा आउनुहोस्। मानेर केही हुँदैन डेढ बर्ष प्रतिपक्षमा बस्छौं, त्यसपछि दुई तिहाई बहुमतसहित आउँछौं।’

सो क्रममा अघिल्लो पटक पनि प्रधानमन्त्रीबाट हटाउने पनि प्रचण्डलगायतको समूह रहेको उल्लखे गरेका उनले भने,‘हटाउने माधव नेपाल, झलनाथ खनाल प्रचण्डहरु नै हुन्। यीनिहरु नै हुन्। आन्दोलन ध्वस्त पार्ने कुरा थियो तर त्यो त हुँदो रहेनछ। हामी फेरि अगाडि बढ्छौं।’

प्रचण्डलगायतको आलोचनामा समय खर्चिका उनले थपे,‘उहाँहरुको भाषा पद्दतीको छ? अविश्वास राखेर प्रधानमन्त्री हटाउने होइन, गलहत्याएर हटाउने? उहाँहरुको विधि पद्दती देख्नुभयो? कुन लोकतान्त्रिक अभ्यासमा पर्छ?’

प्रचण्ड–नेपाललाई मुलुकको कम्फर्टेबल होइन, अरुका लागि कम्फर्टेबल चाहिएको उल्लेख गर्दै ओलीले ‘उहाँहरुको उद्देश्य के रहेछ भन्ने त देखियो नि त’ बताए।

‘उनीहरू जनताको नाम सुन्नासाथ डारउँछन्, जनतामा जान डराउँछन्। ति शक्तिको भूमिका संसदमा कस्तो हुन्छ? हेर्नुपर्ने हुन्छ। तर म पार्टी अध्यक्षका हैसियतमा भन्छु किञ्चित डराउनुपर्दैन’, २३ फागुनमा संसद बैठक बस्ने उल्लेख गरेका उनले जोडे,‘लोकतन्त्रको रक्षाका लागि दृढताका साथ अगाडि बढ्छ। संविधानको रक्षाका लागि अगाडि बढ्छ। आधारभूतमा लोकतान्त्रिक मुल्यमान्यताको रक्षा गर्दै अगाडि बढ्नेछौं।’

उनले धेरै अघि नेता नेपालसँगको भेटबारे स्मरण गर्दै भने,‘०२९ सालमा माधवकुमार नेपालको बिराटनगरको डेरामा सेल्टर लिएर निरन्तर राजनीतिमा लाग्न प्रेरित गरे, ०३२ सालतिर भुमिगत हुनुभयो। त्यसबेला माधव नेपाल अहिलेको जस्तो बानी खराब थिएन। तर अहिले त उहाँको ध्यान अर्जुनदृष्टि जस्तो पानीमा हेरे पनि जता हेरे पनि अध्यक्ष र प्रधानमन्त्री चाहियो तर उधारो होइन।’

नेता नेपाल पार्टीको महासचिव हुँदा निक्कै दुख दिएको बताएका उनले भने,‘नजिकैको बैंकमा जागिर भएको। देशमा केही होस् भन्ने मान्छे। पछि यस्तो हुन्छ भन्ने थाहा पाएको भए त त्यति कोशीश नगरेको भए हुन्थ्यो भन्ने लाग्यो।’

अगाडि जोडे,‘माधव नेपालले आफू पदमा नभएपछि अरुलाई कहिल्यै नसहने। गुटबन्दी गर्ने दबाउने। कसैले बोलायो भने स्पष्टीकरण सोधिन्थ्यो। क्यासेट ल्याएर माधव नेपाललाई बुझाउनु पर्दथ्यो। पत्रपत्रिकामा अन्तरवार्ता दिन नपाउने, टेलिभिजनमा बोल्न नपाउने त्यस्तो थियो।’

पदै चहिने भएको भए नेपालले आफूसँग चुनाव नलडेको भए हुन्थ्यो नि भन्ने प्रसंग कोट्याउँदै ओलीले भने,‘१५ बर्षसम्म निर्विरोध चुन्यौं। १५ बर्ष काँधमा बोकियो। कहिले दाम चढाउन जान्छन्, अनि हामीलाई आपत। परिक्रमा गर्छन्। अहिले गणतन्त्रका कुरा गरेका छन्।’

प्रचण्डले त खराबसँग मात्रै संगत गरेको भन्दै उनले भने,‘प्रचण्डको दरबारसँगको साँठगाँठ अहिले बयान गरेर सकिँदैन। खराब तत्वसँगको भित्री साँठगाँठ सबैसँग हुन्छन्।’

उनले हिंसात्मक आन्दोलनमा रहेका नेत्रविक्रम चन्दलाई वार्तामा आउनका लागि आह्वान गरेका छन्। यस्तै वार्ता पनि सकारात्मक हिसाबले हुने बताएका ओलीले भने,‘विप्लवलाई भन्छु शान्तिपूर्ण बाटोमा लाग्नुहोस्। देशलाई समृद्ध बनाउने बाटोमा लाग्नुहोस्। सुतली बम पड्काएर किन बस्नुहुन्छ? सरकार साथ दिन तयार छ। आउनुहोस् वार्ता गरौं।’

प्रचण्ड–नेपाल विप्लवभन्दा खराब रहेको बताएका उनले भने,‘तर यी केही तत्वहरु स्वार्थ बाहेक केही नदेख्ने तत्वहरु केही समय उनीहरुले भ्रममा पार्छन्, यी सप्रिने बाटोमा छैनन्।’

प्रचण्ड र नेपाललाई पदका पगडी ठूला बाँध्ने सौख मात्र रहेको बताउँदै ओलीले भने,‘कहिले माइतिघर मण्डलामा बाँधेका छन्, कहिले कार्की ब्यांकेटमा बाँध्छन्। यी काम गर्ने होइन, पद चाहिने मात्र हुन्।’

प्रतिक्रिया