म्यानमारमा प्रहरीको गोली लागेर एकै दिन १८ आन्दोलनकारीको मृत्यु


म्यानमार – म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा पनि गरेको छ।

उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ। आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबिसीले जनाएको छ।

प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो।

सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

–  बिबिसी

प्रतिक्रिया