प्रधानमन्त्री ओली पोखरा जादै, रङ्गशाला निरीक्षण देखि भेला सम्बोधनसम्मको कार्यक्रम तय


कास्की – प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।

भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाने तय भएको हो । पोखरा पुगे लगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने छन् । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका सहइञ्चार्ज किरण गुरुङले जानकारी दिए ।

उनले पोखरा रङ्गशालाको निरीक्षण पनि गर्ने भएका छन् । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनुहुने भएपछि सोही अवसरमा उनलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन् ।

सिलवालले राष्ट्रिय खेलकूद परिषद्को संरक्षक रहेका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्रीलाई रङ्गशालाभित्र निर्माण भएको खेल पूर्वाधार देखाउने छौँ, पूर्वाधारका लागि बजेट सुनिश्चितका लागि आग्रह गर्नेछौँ । प्रमको भ्रमणले पोखरालाई खेलकूद पर्यटनको शहरका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण शुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश गुरुङले बताउनुभयो । यसअघि पोखरामा १३औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकामा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया