

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते, १५७ सेल अश्रुग्यास प्रहार

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनमा १५७ सेल अश्रुग्यास प्रहार भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार वाटर क्याननबाट पानीको फोहोरा, १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार गरिएको हो ।
प्रारम्भिक विवरण अनुसार प्रहरीको तीनवटा मेघाफोन, ११ वटा सिल्ड, तीनवटा हेल्मेट र वाटर क्याननमा क्षति पुगेको छ ।
बिहीबार दिउँसो काठमाडौँको बल्खुमा भएको प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।
प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएका थिए। तीमध्ये १७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्। त्यस्तै, प्रहरीतर्फ ५ जना घाइते भएका छन् । उनीहरुको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

