कर्णाली र सुदूरपश्चिममा छैनन् पर्यटक प्रहरी, कहाँ–कहाँ छन् ?


काठमाडौं – ‘पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी’ नारासहित प्रहरी नेपाल प्रहरीको विशेष इकाइको रुपमा नेपालमा पर्यटक प्रहरी स्थापना भएको थियो । यसले नेपालमा आउने पर्यटकहरूलाई सुरक्षित र सन्तृष्ट बनाउने उद्देश्यका साथ काम गरिरहेको छ ।

विशेषगरी पर्यटकमाथि हुने दुर्व्यवहार तथा अपराधिक क्रियाकलाप रोक्ने उद्देश्य पर्यटक प्रहरीको छ । साथै पर्यटक प्रहरीले पर्यटकीय मुद्दाहरूमा सुरक्षा र सल्लाह तथा सहयोग प्रदान पनि गर्नुपर्ने हुन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग अन्तर्गत काम गर्ने गरि पर्यटन प्रहरी नेपाल प्रहरीको विशेष इकाईको रूपमा सन् १९७९ जनवरी २६ मा स्थापना भएको थियो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा हाल देशभर २३९ पर्यटक प्रहरी कार्यरत रहेको पर्यटक विभागको तथ्यांक छ ।

हाल नेपालमा काठमाडौं उपत्यकाभित्र १० इकाइ र उपत्यका बाहिर १२ जिल्लामा १९ इकाइसहित देशभर पर्यटक प्रहरीका  २९ इकाई रहेका छन् । उपत्यकाभित्र काठमाडौंस्थित भृकुटीमण्डपमा प्रधान कार्यालय रहेको पर्यटक प्रहरीले ठमेल, बसन्तपुर, पशुपति, स्वयम्भु, त्रिभुवन विमानस्थल र बौद्धमा सेवा दिइरहेको छ । यस्तै भक्तपुरको नगरकोट र भक्तपुर दरबार तथा ललितपुरको मंगलबजार पाटनमा पर्यटक प्रहरी रहेको विभागले जनाएको छ ।

उपत्यका बाहिर कोसी प्रदेशमा झापाको काँकरभित्ता, सोलुखुम्बको लुक्ला र नाम्चेबजारमा पर्यटक प्रहरीले सेवा दिइरहेका छन् । उता मधेस प्रदेशमा धनुषाको जानकी मन्दिर र पर्साको विरगञ्जमा पनि पर्यटक प्रहरी रहेका छन् । त्यसैगरी बागमती प्रदेशमा चितवनका दुई स्थान सौराहा र पटिहानी तथा रसुवाको स्याफ्रुबेसीमा पर्यटक प्रहरी रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशभित्र पर्ने कास्कीको धम्पुस, घान्द्रुक, बिरेठाँटी, मनाङको चामे र धरापानीमा प्रहरीले सेवा दिइरहेका छन् । सोही प्रदेशको मुस्ताङस्थित जोमसोम, म्याग्दीको घोरेपानी र तनहुँको बन्दीपुरमा समेत पर्यटक प्रहरी रहेका छन् ।  लुम्बिनी प्रदेशमा भने रुपन्देहीको बेलाहिया र लुम्बिनीमा पर्यटक प्रहरी रहेको पर्यटक विभागले जानकारी दिएको छ ।

यी सबै प्रदेशमा पर्यटक प्रहरी हुँदा देशका दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा भने पर्यटक प्रहरी नरहेको विभागको अधिकारिक वेभसाइटमा उल्लेख छ । यी दुई प्रदेशका विभिन्न जिल्लामा पर्यटक प्रहरी खटाइने योजना रहेको पर्यटक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए । ‘कहिलेसम्म भन्ने छैन तर आवश्यकता अनुसार स्थिती हेरेर खटाइने योजना रहेको छ’ उनले भने ।

उनका अनुसार विभिन्न पर्यटकका पासपोर्टलगायतका महत्त्वपूर्ण कागजात हराएका, पर्यटक व्यावसायीसँगको विवाद तथा विपद् जोखिममा परेका गुनासो आउने गरेको उनले बताए । विभिन्न हिंसा तथा घटना सम्बन्धी गुनासोमा भने समन्वय गरेर पर्यटकलाई प्रहरीसम्म पुर्याइदिने उनले जानकारी दिए ।

प्रतिक्रिया